
नेपालगञ्ज : मुगु जिल्लाकै दुर्गम सोरु गाउँपालिकाले विभिन्न कारणवस अनेत्र जिल्लामा बस्न वाध्य भएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि नेपालगञ्जमा वैकल्पिक सेवा केन्द्र स्थापना गरेर नविकरण गरि दिएको छ ।
रोजगार, औषधि उपचार, अध्ययन, आफन्तसंगको भेटघाट लगायतका समस्याले जिल्ला बाहिर रहेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै सोरू गाँउपालिकाले नेपालगञ्जको राँझामा बैकल्पिक सेवा केन्द्र स्थापना गरी नविकरण प्रकृयालाई अगाडि बढाएको हो ।
काठमाण्डौं, कैलाली, दाङ्ग, सुर्खेत, बाँके जिल्लामा रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको असहजतालाई सोरू गाँउपालिकाले कार्यपालिकावाट निर्णय गरी नेपालगञ्जको राँझामा भदौ २६ देखि ३० सम्म सञ्चालन गरेको वैकल्पिक नविकरण सेवा केन्द्रबाट झन्डै १ सय ७ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नविकरण गरेका छन् ।
६० बर्ष नाघेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अध्ययन, रोजगार लगायतका विविध कारणले अन्य जिल्लामा रहेका लाभग्राहीहरुले मुगु जिल्लाको सदरमुकाम र त्यसपछि सोरू गाउँपालिका पुग्न स्थल र हवाई दुवै मार्गबाट बर्षातको समयमा निकै कठीन हुने देखिएपछि गाँउपालिका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा गाउँकार्यपालिकाबाट निर्णय भए अनुसार यो आर्थिक बर्षको दुई महिनाको भदौ अन्तिम साता नेपालगञ्जमा वैकल्पिक नविकरण सेवा केन्द्र स्थापना गरेर नविकरण प्रकृया अगाडि बढेको सोरू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
उनले गत आर्थिक बर्ष २०८१/०८२ मा ११ वटै वडाबाट ३ हजार ३९ जना सामाजिक सुरक्षा भत्ता लाभग्राहीले नविकरण गरेकोमा यो आर्थिक बर्ष २०८२ / ०८३ मा राज्यको नीति अनुसार वायो म्याट्रिक प्रणाली अनुसार २ हजार २ सय ४ जनाले नविकरण गरेकोमा छुटेका ५ सय ३२ जनालाई नविकरणमा आवद्ध गर्न नेपालगञ्जमा सेवासुविधा सहित नविकरण सेवा केन्द्र सञ्चालन गरिएको जानकारी दिए ।
विविध कारणले वाहिरी जिल्लामा रहेका लाभग्राहीलाई सेवा प्रवाह गर्न भदौ २६ देखि ३० गते सम्म नेपालगञ्जको राँझामा वैकल्पिक नविकरण सेवा केन्द्र सञ्चालन गरेर वायो म्याटिक प्रणाली अनुसार १ सय ७ जनाको नविकरण गर्न सफल भएको सोरु गाउँपालिका वडा नं २ र ९ नम्बर वडाका वडा सचिव विक्रम यादवले बताए ।

बर्षातको समयमा नेपालगञ्जदेखि बसबाट मुगु पुग्न निकै सास्ती हुने र हवाई मार्गबाट सदरमुकाम पुग्न झन्डै ८ हजार र त्यसपछि सोरू गाउपालिका पुग्न अरु २ हजार र खाना खर्च समेत झण्डै २० हजार खर्च गरेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्न जानुपर्ने बाध्यतालाई बुझेर सोरू गाउँपालिकाले आफू विगत ४ वर्षदेखि दमको उपचारका लागि बाँकेमा बस्दै आएकाले नेपालगञ्जबाटै नविकरणको सुविधा दिएकोमा सोरु गाउँपालिका–६ पुरुमुरुका ७१ बर्षिय लालबहादुर शाही निकै खुशी व्यक्त गरे ।
आँखा र कानको समस्याले बाँके झरेकी सोरु–६ मुगुकी तुलकली शाही सरकारकै भरमा बाँच्नुपरेको भन्दै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सोरू गाउँपालिकाले नेपालगञ्जबाटै सेवाकेन्द्र चलाएर नविकरण गरिदिएपछि खर्च बचत भएकोले खुशी व्यक्त गर्दै पालिकालाई धन्यवाद समेत दिईन ।
नेपालको कर्णाली प्रदेश भौगोलिक रूपमा विकट छ । यस्ता विकट गाउँबस्तीमा बसोवास गर्ने सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई आवत जावतमा पनि निकै कठिन छ । सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वायो म्याट्रिक प्रणाली अनुसार दावी पुगेका नागरिकले नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ता परिचय पत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाण पत्र र संरक्षकको राष्ट्रिय परिचय पत्रको प्रतिलिपी, विधुवा / एकल महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि र अपाङ्गता परिचय पत्र / नागरिकता / जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपिको प्रमाणका आधारमा नविकरण गर्ने गरेको सोरू गाउँपालिकाले जनाएको छ ।
यस्तै कठीन परिस्थितिवाट विविध कारणवस जिल्ला बाहिर रहेका लाभग्राहीलाई मध्यनजर गर्दै सोरू गाउँपालिकाले गरेको यस्ता कार्यले राज्यले दिएको सुविधाबाट जीवन यापन गर्न ठूलो मद्दत पुग्ने देखिन्छ । यस्तो कार्य नेपालका विकट जिल्लाका स्थानीय पालिकाले पनि सिक्न जरूरी छ ।



