२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे अन्तरक्रिया



नेपालगञ्ज : अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा प्रदेशबाटै कानून निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीले औल्याएका छन् । नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे प्रदेशस्तरिय कार्यशालाका सहभागिले सो कुरा औल्याएका हुन ।

अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था सुनिश्चित गर्दै नीतिगत रुपमा नै अधिकार कार्यान्वयन गर्ने उद्देश्यले नेपाल परिवार नियोजन संघ बाँकेले प्रदेश स्तरमै केही समयदेखि बिभिन्न चेतनामुलक गतिविधि आयोजना गर्दै आएको संघका बाँके शाखा प्रबन्धक रश्मी श्रेष्ठले जानकारी दिईन् ।
अपाङ्गता भएका व्यक्तिहरु आफ्नो प्रजनन अधिकारको बारेमा खुल्न नसक्ने अवस्था रहेको र कार्यक्रम सञ्चालन भएपछि खुलेर यो मेरो अधिकार हो भन्न सक्ने आत्मबल आएको सरोकारवाल मध्येकी एक रिता खड्काले बताईन् ।

नेत्रहीन संघ बाँकेका अध्यक्ष भावुक जंग थापाले कार्यक्रमले प्रजनन स्वास्थ्य अधिकार हो भन्ने सन्देश दिएको र यसलाई नीतिगत रुपमै विकास गर्न आवश्यक रहेको औल्याए ।  लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अपाङ्गगता भएका व्यक्तिको प्रजनन अधिकार सुनिश्चित गर्ने गरी कानून निर्माण गर्नको लागि प्रदेश सरकार सकारात्मक भएको बताए ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर, परिवार नियोजनको परामर्श, प्रजनन अधिकारबारे जानकारी दिनुका साथै अपाङ्गता अधिकारको सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाँकेमा १३ हजार ५ सय २२ जना विभिन्न १० प्रकारको अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । नेपाल परिवार नियोजना संघ बाँकेका अध्यक्ष बद्रदुजा खाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८१ पुस १५ गते सोमबार
ताजा समाचार