डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं. ६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माण कार्यको नेकपा एमालेले अनुगमन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपति दयाल मिश्र र मोहम्मद हारुनको टोलीले अनुगमन गरेको हो ।
ओभरलोड बोकेर टिपर गुडेका कारण ओटासिल सडकमा खाल्डाखुल्डी भएपछि करिब साढे १२ सय मिटर सडक कालोपत्रे गर्न लागिएको डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।
सो सडकको किनारमा २ सय ५० मिटर नाली निर्माणको काम शुरु भइसकेको जानकारी दिँदै वडाध्यक्ष मिश्रले नाली निर्माण पुरा भएपछि सडक कालोपत्रे गर्न शुरु गरिने बताए । अनुगमनका क्रममा एमालेका केन्द्रीय सदस्य मिश्रले नाली निर्माणको शुरुवाती चरणको काम सन्तोषजनक रहेको बताए ।
तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त सडक निर्माणका लागि १ करोड बजेट विनियोजन गरेका थिए । जसअन्तर्गत ५७ लाख १७ हजार ३ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता भइ काम शुरु भएको वडाध्यक्ष मिश्रले बताए ।
उक्त सडक निर्माणको जिम्मेवारी पाएको राप्ती गणेश कन्स्ट्रक्शनले काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । अनुगमन टोलीमा एमालेका गाउँ इकाई कमिटी अध्यक्ष ओरीलाल मुराउ, नेता अशोक थापा क्षेत्रीलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।