
नेपालगञ्ज : बाँकेका किसानको अवस्था परिवर्तन गर्ने उद्देश्यले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन सिक्टा सिचाई आयोजना समयमै निर्माण सम्पन्न हुन नसक्दा किसानमा नैरास्यता र आयोजनाको लागत थपिदै गएको छ ।
विक्रम संवत २०६२ मा १२ अर्व ८० करोडमा निर्माण सम्पन्न गर्ने गरि सुरु भएको आयोजनाको परिमार्जित लागत बढेर २५ अर्व २ करोड खर्च भईसक्दा पनि किसानको खेतसम्म आयोजनाको पानी सजिलै पुग्न सकेको छैन ।

आयोजना निर्माण हुनु अघि नै बाँकेका किसानको लागि सिचाईका लागि पानीको बैकल्पिक व्यवस्था भूमिगत सिचाई पनि सफल हुन नसक्दा जनताको भरोसाको केन्द्रको रुपमा सिक्टलाई नै लिदै आएको राष्ट्रिय सिचाई किसान महासंघका अध्यक्ष सालिकराम डाँगीको भनाई छ ।
उनले सिक्टा सिचाई आयोजना निर्माण सुरु भएसंगै बाँकेका किसानले खोतीको लागि सिचाई हुने विश्वास गरेको भएपनि आयोजना निर्माणकै क्रममा भएका राजनैतिक खिचातानीको शिकार आयोजना बन्दा समयमा निर्माण सम्पन्न हुन नसकेको आरोप लगाए ।
उनले भने–‘ आयोजनाका कर्मचारी र निर्देशकको अनाहकमा हुने सरुवा र फेरबदलले पनि आयोजनाको निर्माणको समय बढ्दै गएको हो । आयोजना बुझेर काम सुरु गर्न लाग्दा नलाग्दै हुने सरुवा रोकेर निर्धक्क काम गर्ने बाताबरण मिलाई दिनु परो अनिमात्र नतिजा देख्न सकिन्छ ।’ यत्रो ठूलो आयोजना निर्माण हुँदा पनि किसानको खेतसम्म आयोजनाको पानी सजिलै पुग्न सकेको छैन । यसले किसानमा आयोजना प्रति नैराश्यता छाएको अध्यक्ष डाँगीको भनाई छ ।

बाँकेमा निर्माणाधिन सिक्टा सिचाई आयोजना समयमै निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा विक्रम संवत २०६२ बजेट १२ अर्ब ८० करोडमा निर्माण सम्पन्न गर्ने लक्ष रहेको सिक्टाको संशोधित लागत २५ अर्ब २ करोड पुगिसकेको आयोजनाका निर्देशक गोपाल शर्मा बताउछन् ।
आयोजना निर्देशक शर्माले सिक्टा सिचाई आयोजनालाई राज्यले राष्ट्रिय गौरवको आयोजना भनेर सम्बोधन गरेपनि सिक्टा सिचाई आयोजनामा बजेट तथा आयोजनाको कामहरु राष्ट्रिय गौरबको आयोजनाको रुपमा द्रुत गतिबाट काम हुन नसकेको गुनासो गरे । उनले भने–‘ नाम मात्र राष्ट्रिय गौरवको आयोजना भनिएको छ । राष्ट्रिय गौरबको आयोजनाका लागि हुनु पर्ने प्राथमिकतामा आयोजना छैन । हामीलाई द्रुत गतिबाट काम गर्ने बताबरण बनाई दिए आगामी ४ वर्ष भित्र किसानको खेतसम्म सुजिलै पानी पुग्ने व्यवस्था मिलाउन सक्षम हुने छौ ।’

उनले आयोजनाको गुरुयोजना अनुसारका सबै काम गर्न भने ५२ अर्ब ८९ करोड लाग्ने अनुमान गरिएको बताए । सरकारले २०७९–०८० मा निर्माण सम्पन्न गर्ने गरी काम अघि वढाएको भए पनि विभिन्न समस्याका कारण आयोजनाको निर्माण समयमा हुन नसकेको आयोजना निर्देशक शर्माको भनाई छ ।
उनले बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर खेतियोग्य भूमि सिचाई गर्ने उद्देश्यले निर्माण भैरहेको आयोजनाको पश्चिम मूल नहर निर्माण सम्पन्न भए पनि पूर्वी नहर ५३ किलोमिटर बन तथा मुआब्जाको कारण ३९ किलोमिटरसम्म मात्र निर्माण सम्पन्न भएको जानकारी दिए
पश्चिमी मूल नहर ९ वटा शाखा नहरमा विभाजित छ । पश्चिमी मूल नहर २ वटाको उपशाखा शाखा प्रशाखा निर्माण यसैवर्षदेखि सुरु भए पनि अन्य ७ वटामा भने निर्माणको अन्तिम चरणमा पुगेको छ । भने पूर्वी नहरको फत्तेपुर र राजकुलो बाहके अन्य ५ वटा उपशाखा निर्माणको चरणमा रहेको आयोजना निर्देशक शर्माको भनाई छ ।


