बाँकेमा दुई महिनामा भएको सडक दुर्घटनामा परेर १२ जनाले गुमाए ज्यान 

सदरलाइन संवाददाता ६ आश्विन २०८१, आईतवार १८:२९
 
नेपालगञ्ज :  चालु आर्थिक वर्षको दुई महिनामा बाँकेमा भएका १८ वटा सवारी दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाउनुका साथै १९ जना गम्भीर र ३६ जना सामान्य गरी ५५ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष २०८१–०८२ को साउन र भदौ महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा १८ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाउदा ५५ जना घाइते भएको भएको जानकारी दिए ।
चालु आर्थिक वर्षको दुई महिनामा मात्र बाँकेमा सवारी नियम उलंघन गर्ने ५ हजार एकसय १८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी बाँकेले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई गरिने  कारबाहीबाट ४० लाख २९ हजार रुपियाँ जरिबानावापत् राजस्वसमेत सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक पन्तले जानकारी दिए ।
उनले भने–‘ सडक दुर्घटना न्यूनिकरणका लागि सवारी नियम उलंघन गर्ने सवारी साधनलाई जरिवाना गर्नुका साथसाथै सम्भावित दुर्घटना न्यनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम पनि गर्दै आएका छौ ।’
उनले सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका उपायहरु लगायतका विषयमा सचेतना प्रदान गर्दै आएको बताए ।
ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने नभएर सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्दै आएको उनको भनाई छ । उनले नागरिक सचेत भएपछि स्वभाविक रुपमा सवारी दुर्घटनामा कमी आउने उद्देश्यले विभिन्न सचेतना तथा जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको दावी गरे ।
ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम बढाउँदै लगे पनि ट्राफिक नियम पालनाको अटेरीका कारण सडक दुर्घटना हुने र त्यसबाट सर्वसाधारण घाइते हुनुका साथै ज्यानसमेत जाने गरेको उनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको तथ्याङ्कअनुसार बाँकेमा गत आर्थिक वर्ष २०८०–०८१ मा १ सय ५८ वटा सवारी दुर्घटना भएका थिए । सो दुर्घटनामा परी ४८ पुरुष, १६ महिला र २ बालक गरी ६६ जना सर्वसाधारणको ज्यान गएको थियो । २ सय १२ जना घाइते भएका थिए, भने चालु आर्थिक वर्षको दुई महिनामै १२ जनाले सडक दुर्घटनामा परेर न्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको संरक्षण र विकासका लागि उपयुक्त निकास निकाल्छ : मुख्यमन्त्री आचार्य

६ आश्विन २०८१, आईतवार १८:२९
  देउखुरी (दाङ) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण र विकासका लागि प्रदेश सरकारले उपयुक्त निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन २०८१ बुझ्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सवलिकरणमा प्रदेश सरकारले नीतिगत सुधार गरेर अघि […]