बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हवको प्रसस्त सम्भावना रहेको बताएका छन् ।
उनले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योग्दान पु¥याएको कारण बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बनेको उल्लेख गर्दै यसको विकास र प्रचार प्रसार आवश्यक रहेको औल्याए ।
उनले अझै बर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताउदै बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने कुरामा जोड दिए ।
बर्दियाको जिल्लाको पवित्र तिर्थस्थल ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन । ‘यहाँको पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोड्छौं’–उनले भने –‘लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पु¥याउछ ।’
मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकतामा पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा एक अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको हो ।