नेपालगञ्ज : राप्ती नदीको सतह बढ्दा नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार सशस्त्र प्रहरीको प्रकोप उद्दार टोलीले सकुशल उद्धार गरेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरीले आइतबार उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।
नदीमा आएको बाढीका कारण रातभर फसेका राप्तीसोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको उनले जानकारी दिए ।
उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली ४३ जना प्रहरीसहितको टोली परिचालित भएकोे थियो ।
राप्ती नदीबाट सर्वसाधारणलाई डुङ्गामा राखेर वारिपारि गराउँदै आएका मल्लाहको उद्धारपछि तीन जनालाई लाइफ ज्याकेट वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।