काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताएका छन् । बुधबार इलाम क्षेत्र नं २ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले देश बनाउनको लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताउदै सधैँ गठबन्धनले देश नबन्ने कुरामा जोड दिदै नेकपा एमालेले मिसन २०८४ भनेको बताए । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उनले भने ।
देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न नेकपा एमालेले नयाँ समीकरण बनाएको बताए । ‘पहिरो गएको गएकै भयो देशमा, तीन वर्षदेखि पहिरो गएकै गए भयो’, ओलीले भने ।
सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उनले जोड दिए । देश बिग्रन दिनु नहुने बताउँदै एमाले अध्यक्ष ओलीले देश आफैँले बनाउनु पर्ने स्पष्ट पारे ।
उनले भावनामा बगेर देश नबन्ने बताउदै विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने कुरामा जोड दिए । पहिचान विरोधी कोही नभएको बताउँदै ओलीले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गरे ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले इलामा क्षेत्र नं २ बाट नेकपा एमालेले अगाडि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाएका सुहाङ नेम्वाङको विजय निश्चित भएको दाबी गरे । वैशाख १५ गते हुने इलामको उपचुनावमा सुहाङ जति योग्य उम्मेदवार कोही नभएको उनले दाबी गरे । ओलीले इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्दै आफूले सुहाङको जिम्मा लिने बताए ।
ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने बताए । विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको प्रष्ट पारे ।
कम्युनिष्टले समृद्धि होइन गरिबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताए । कम्युनिष्टले एक पटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको एमाले अध्यक्ष ओलीले उदाहरण दिए । एमालेको पालामा कयौँ पूर्वाधार निर्माण र सामाजिक विकासका काम भएका ओलीले बताए ।
पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसले संविधान सभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै ओलीले प्रश्न गरे । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने पार्टी कुन हो ? भन्दै उनले प्रश्न गरे । ‘नेकपा एमाले समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’, ओलीले भने ।
ओलीले आजको प्रमुख समस्या गरिबी भएको बताउँदै गरिबी निवारण अबको प्रमुख काम भएको बताए । आफ्नो पालामा ९ लाख मानिसलाई गरिबिको रेखामुनिबाट माथि उठाउने काम गरेको ओलीले स्मरण गराए । ठेक्का लिएको काम समेत समयमा पुरा गर्न नसक्नेहरूले देश बनाउने कुरा गरेका भन्दै उनले उनीहरूबाट आशा गर्न नसकिने ओलीले बताए ।
ओलीले एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउदै सुरुङ मार्ग र द्रुत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युग तर्फ लगेको उनले दाबी गरे । नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको ओलीले बताए ।
इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताएका छन् ।
बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाएको बाटोबाट आफू कतै विचलित नहुने बताए । ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।
नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उत्सृङ्खल भएर प्रस्तुत नहुन आग्रह गरे । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उनले सबैलाई अनुरोध गरे ।
इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको बताउदै ती बाँकी काम पुरा गर्न सबै एक भएर लाग्दै आफुलाई विजयी बनाउन आग्रह गरे ।