कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

सदरलाइन संवाददाता २१ पुष २०८०, शनिबार १७:२८
 

नेपालगञ्ज : लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा वन बाधक देखिएको छ । वन क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति नपाउँदा विस्तार कार्यमा ढिलाइ भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जले लाइन विस्तारको क्रममा रुख कटान बापत जग्गा नै दिनुपर्ने भनेको छ । सोही अनुसार ६३ बिगाहा जग्गा खरिद गरेर निकुञ्जलाई दिइसकिएको छ ।

यद्यपि रुख कटानका लागि निकुञ्ज विभागसँग सम्झौता हुन भने बाँकी रहेको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन प्रमुख रविकुमार चौधरीका अनुसार आयोजनाको तर्फबाट हुनुपर्ने सम्पूणर् काम भइसकेको छ । वन मन्त्रीबाट नै एउटा पत्र आएको छ । उक्त पत्रमा वनसम्बन्धी एउटा कानुन संशोधन गर्नुपर्ने भएकाले ढिलाइ भएको हो ।

यदि उक्त काम सम्पन्न भएपछि निकुञ्ज विभागसँग सम्झौता गर्ने र रुख कटानका लागि काम अघि बढ्ने उनले बताए । त्यसका लागि उपप्रधान तथा रक्षा मन्त्री पूणर्बहादुर खड्का र सांसद हृदयराम थानीले काम अगाडि बढाउनका लागि ताकेता गरिरहेका छन् । बाँकी खाली ठाउँमा गर्नुपर्ने कामहरू भने भइरहेका छन् ।

ईआईए प्रतिवेदन अनुसार प्रसारण लाइनको ७०.५४६ भाग वनको क्षेत्र, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ । लाइन विस्तारका लागि १३ हजार रुख कटान गर्नुपर्नेछ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा २ हजार ९१९ बराबर रुख काट्नुपर्ने देखिन्छ । यो लाइन विस्तार नहुँदा कर्णालीका नागरिकहरूले चर्को मात्रामा अनियमित विद्युतको मार खेपिरहेका छन् । अहिले सञ्चालन भइरहेको ३३ केभीको संरचना निकै पुरानो भइसकेको र लोड धान्न नसक्ने हुँदा दैनिकजसो विद्युत् अवरोध हुने गरेको छ । उक्त समस्या समाधान हुनका लागि एउटै विकल्प १३२ केभी हो ।


उक्त आयोजना कोहलपुर सब–स्टेसनबाट प्रारम्भ भई सुर्खेत, वीरेन्द्रनगरस्थित प्रस्तावित सब–स्टेसनमा गएर टुङ्गिनेछ । प्राधिकरणका अनुसार आयोजनाको लम्बाइ करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुनेछ । आयोजना बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत जोडिने छ । आयोजनाबाट बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी र सुर्खेतका भेरीगङ्गा, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने उल्लेख छ ।

आयोजना निर्माणको ठेक्का भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २२ असार ०७६ मा लिएको हो । सम्झौता भएको मितिले २ वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिद लगातका सम्पूणर् काम गरिसक्नुपर्ने थियो । तर कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौबाट काम सुरु गरेको थियो ।

एक अर्बभन्दा बढी लागत अनुमान रहेको यो आयोजनाको अहिले ठेकेदार कम्पनीले ७० करोड रुपियाँ लागतमा काम गरिरहेको छ । आयोजना क्षेत्र अन्तर्गत पर्ने राष्ट्रिय निकुञ्ज र बाँकेको बानियाभार क्षेत्रमा अझै विवाद छ । बैजनाथ गाउँपालिकाको बानियाभार क्षेत्रका स्थानीयले अवरोध गरिरहेका छन् । जसका कारण विस्तारको काम लम्बिने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा जेष्ठ नागरिकलाई कम्बल वितरण

२१ पुष २०८०, शनिबार १७:२८
नेपालगञ्ज : जानकी गाउँपालिका वडा नं. ५ मा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । जेष्ठ नागरिकलाई जाडो मौसममा न्यायो प्रदान गर्न सम्मान सहित कम्बलहरु वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले ३ सय ७५ जना जेष्ठ नागरिक, गरिब तथा अति विपन्न […]