नेपालगञ्ज : नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेलाका लागि विभिन्न उपसमिति गठन भएका छन् । बाँकेका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न र उद्यमता तर्फ लाग्ने प्रोत्साहित गर्न महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष प्रदर्शनी मेला गर्दै आएको छ । २४–२६ पुससम्म आयोजना हुने प्रदर्शनी मेलामा महिला उद्यमीले उत्पादन गरेका बस्तु विक्रीका लागि राखिने अध्यक्ष सावित्रा बस्नेतले बताइन् ।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा आयोजना हुने प्रदर्शनी मेलालाई भव्य बनाउन विभिन्न उप–समिति गठन गरिएको उनले बताइन् । ‘प्रदर्शनी मेलालाई भब्य र सभ्य बनाउन हामी तयारीमा जुटेका छौं । विगतमा जस्तै यसपटक पनि ग्रामिण भेगका महिलाले उत्पादन गरेका वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो । मेला सफल बनाउन विभिन्न उपसमितिले आ–आफ्नो काम अगाडी बढाएका छन्,’ उनले भनिन् ।
संघका प्रथम उपाध्यक्ष रेवती सिंहलाई प्रदर्शनी मेला संयोजकको जिम्मेवारी दिइएको छ । यसैगरी, बविता मैनालीको संयोजकत्वमा स्वागत सत्कार तथा आवास उप–समिति गठन गरिएको छ । उक्त उपसमितिको सदस्यमा सुशिला राणा, सुनिला बराल र गीता प्रसाईलाई तोकिएको छ ।
नितु चन्द शाहको संयोजकत्वमा स्टल व्यवस्थापन उप–समिति, सरिता शाक्यको संयोजकत्वमा सचिवालय तथा सञ्चार उप–समिति गठन गरिएको छ । जसको सदस्यमा आभा गौतम रहेकी छिन् । शशी स्वाँरको संयोजकत्वमा आर्थिक उप–समिति, संघको पूर्व अध्यक्ष सरस्वती शर्माको संयोजकत्वमा जिल्ला समन्वय समिति, अन्जु गुरुङको अध्यक्षतामा मञ्च व्यवस्थापन उप–समिति गठन गरिएको छ । जसको सदस्यमा सुस्मा सुवेदी र कमला टण्डन चयन भएका छन् ।
आवश्कता अनुसार अन्य उप–समितिहरु विस्तार गरिने प्रदर्शनी मेला संयोजक रेवती सिंहले बताइन् । ‘केहि उप–समितिहरु गठन गर्न बाँकी छ । आवश्यकता अनुसार क्रमश अन्य उप–समितिहरु गठन गर्दै जानेछौँ,’ उनले भनिन् ।
महिला उद्यमी संघ नेपाल बाँकेले एक दशक अघिदेखि महिलाहरुलाई उद्यममा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । अन्यले आयोजना गर्ने भन्दा महिला उद्यमी संघले गर्ने प्रदर्शनी मेला फरक भएको अध्यक्ष बस्नेतको भनाई छ । ‘हाम्रो मेला अन्य भन्दा केहि पृथक छ । हामी नाफा कमाउने भन्दा महिला व्यवसायीलाई उद्योग, व्यवसायमा कसरी सक्रिय बनाउन सकिन्छ भनेर मेला आयोजना गर्छाैं । उनीहरुका समस्याहरु समेत उजागार गरेर समाधान गर्ने प्रयास गर्छौं,’ उनले भनिन् ।