नेपालगञ्ज : विद्युत प्राधिकरण नेपालगञ्जका कर्मचारीले सडकमा हुर्केका विरुवा समन्वयबिना काटेपछि नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरण विरुद्ध अपराधिक उपद्रवको मुद्दामा जाहेरी दिएको छ ।
स्थानीय सरकारसँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको ठाडो जाहेरी दिएको छ भने वन कार्यालयमा पनि वन ऐन अनुसारको उजुरी दर्ता गराएको छ ।
विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगञ्ज उपमहानगरपालिकाले हुर्काएका रुख ठुटै हुने गरी काटेपछि नगर प्रमुख प्रशान्त विष्ट आक्रोशित हुँदै विद्युत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन् । सार्वजनिक सम्पति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिएको नगर प्रमुख विष्टले बताए ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगञ्ज उपमहानगरपालिकाले जाहेरी आएको बताउँदै त्यसबारेमा अनुसन्धान गरिने बताए ।
विद्युत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए । रुख काटिएको थाहा पाउने वित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल घटनास्थलमा पुगेका थिए ।
नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयस्क रुख काटिएपछि प्राधिकरणको चौतर्फी विरोध भएको छ । विद्युतले तारमा छुन थालेको हाँगा छाँट्नु पर्नेमा रुख ठुटै हुने गरी काटिदिएको थियो ।