सहकारी संस्थालाई सुदृढ बनाउन अभिमुखीकरण

सदरलाइन संवाददाता २५ मंसिर २०८०, सोमबार १३:१८
 

नेपालगञ्ज : सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा सोमवार सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो ।

सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन रानाले बताए ।

सहकारीलाई सुदृढ, व्यवस्थित र चुस्तदुरुस्त राख्न अभिप्रेरित गर्दै जनस्तरमा गुम्दै गएको सहकारीप्रतिको विश्वासलाई पुनः जागृत गराउन अभिमुखीकरण गरिएको रानाले जानकारी दिए । जिल्ला सहकारी संघ बाँकेको सहजीकरण भएको अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राना र संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहजीकरण गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका ११२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने, आवश्यक देखिएमा अनुगमन गर्ने र समस्याग्रस्त देखिएमा सघन अनुगमन गर्ने नीति लिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार र सशक्तिकरणका लागि केही गर्न खोजेको भन्दै सबैको प्रतिबद्धता जरुरी रहेको बताए । अन्तरक्रियाले गाइडलाइन प्रदान गर्ने बताउँदै पुनले सहकारी अभियानलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए । उनले अब उत्कृष्ट सहकारीलाई सम्मान गर्ने परिपाटीको विकास गरिने जानकारी समेत दिए ।


जिल्ला सहकारी संघका प्रवन्ध सञ्चालक उपाध्यायले समस्याग्रस्त सहकारीलाई ट्रयाकमा ल्याउन आवश्यक रहेको बताए । नेफस्कून प्रमुख छत्र धमलाले समस्याग्रस्त सहकारीलाई उकास्न समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गर्दै सुशासन कमजोर भएर थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए ।

राष्ट्रिय सहकारी बैंक नेपालगञ्जका प्रमुख प्रकाश थपलियाले सहकारी स्वयंले कमजोरी गर्दा विश्वास गुमाउँदै गएको बताउँदै आफैंले आफ्नो स्वनियमन गर्नुपर्नेमा जोड दिए । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्रप्रसाद अधिकारीले सहकारीलाई मुख्य पेशा नबनाउँदा चुस्त दुरुस्त र व्यवस्थित बन्न नसकेको बताए ।

कार्यक्रममा करिब ४ दर्जन सहकारी प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पेसेवर चोर पक्राउ

२५ मंसिर २०८०, सोमबार १३:१८
नेपालगञ्ज : बाँके प्रहरीले नेपालगन्जबाट एक जना पेसेवर चोरलाई पक्राउ गरेको छ । नेपालगञ्ज–१० स्थित भृकुटीनगरको एक घरमा चोरी गर्ने नेपालगञ्ज–९ बाँके गाउँ पशुपति टोल बस्ने सोनु गोडियालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रहरीको टोलीले गोडियालाई चोरीको योजना बनाउदै गरेको अवस्थामा बाँके गाउँबाट पक्राउ गरेको जानकारी दिएको […]