वाणिज्य बैंक नेपालगञ्ज शाखा प्रबन्धकलाई ८ वर्ष कैद

सदरलाइन संवाददाता १२ असार २०८०, मंगलवार १६:२३
 

नेपालगञ्ज : किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ ।

बैंकका शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको अभियोजन सहित मुद्दा दर्ता गरिएको थियो । यसबाट सरकारी सम्पत्तिको नोक्सानी भएको ठहरसहित अख्तियारले मुद्दा चलाएको भएपनि अदालतबाट आंशिक ठहर हुने गरि फैसला भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २०७७ जेठ २७ गते शाही पक्राउ परेका थिए ।


शाहीसँगै रिजवान अहमद जसगढलाई पनि सो मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दामा अभियोजन दर्ता भएका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।

शाहीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो । शाही, जसगढसहितको ८ जनामाथि मालपोत कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेको अढाइ वर्षपछि अदालतबाट फैसला आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बी–ग्रुपद्वारा पिउनेपानी तथा हातेधुने स्थान निर्माण गरी हस्तान्तरण

१२ असार २०८०, मंगलवार १६:२३
बर्दिया :  बी–ग्रुपले बर्दियाका सामुदायिक विद्यालयलाई शुद्ध  पिउने  पानी र हात धुनको लागि हातेधुने स्थान निर्माण गरेर हस्तान्तरण गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा संचालित बालविवाहा न्युनिकरण परियोजना संचालन भएको र बाल विवाहाको जोखिम कम गर्नका लागि बारबर्दिया नगरपालिकाको समन्वयमा वडा नं ५ बनधुस्रीमा रहेको जनशक्ति आधारभुत विद्यालयमा […]