आफ्नो निर्वाचन क्षेत्रका लागि योजना माग्दै ‘नमुना’

सदरलाइन संवाददाता ५ पुष २०७९, मंगलवार १२:११
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छिन् । काठमाण्डौ पुगेकी उनले अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् ।

उनले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुंगे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार पाँच सय घरधुरीका फुसका छाना हटाउन बजेट, १६ किलोमिटर पक्की नाली निर्माण लगायतका योजनाहरु पेश गरेकी छन् ।

‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुवै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छु । मन्त्रीज्यूहरुसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफल भयो,’ काठमाण्डौमा रहेकी सांसद नमुनाले टेलिफोनमा भनिन् ।

आफूले पेश गरेका योजनाहरुको बारेमा दुवै मन्त्रीहरु सकारात्मक रहेको भन्दै केही योजनाहरुमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुने उनले दाबी गरिन् । अहिलेसम्म योजनामा समावेश नभएका यहाँका विभिन्न योजनालाई योजनामा समावेश गरेर बजेट विनियोजन गरिदिन आफूले मन्त्रीहरुलाई आग्रह गरेको सांसद नमुनाले बताइन् ।

उनले बाँसखुली हुँदै दाङको भौवा नाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रा नालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि माग पेश गरेकी छिन् ।


फुसको छानो हटाउने कार्यक्रम अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत नरैनापुरमा दुई हजार, राप्तीसोनारीमा एक हजार र कोहलपुरमा पाँच सय घर निर्माणका लागि बजेट सुनिश्चित गरिदिन अर्थमन्त्री शर्मालाई आग्रह गरिएको उनले बताइन् ।

‘फुसका छाना विस्थापित गर्नको लागि सोमबार नै मैले पेश गरेका योजना अनुसार बजेटको लागि अर्थमा फाइल गइसकेको छ,’ सांसद नमुनाले जानकारी दिँदै भनिन्, ‘एक दुई दिनमै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्छ होला ।’

राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकीकृत बस्ती विकास र निर्माण गर्नका लागि सहरी विकास मन्त्री चौधरीलाई उनले आग्रह गरेकी थिइन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुम्भर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरमा ६÷६ कोठे भवन तथा सहिद स्मृति सामुदायिक भवन निर्माणको लागि बजेट सुनिश्चित गरिदिनका लागि अर्थ मन्त्री शर्मासँग सांसद नमुनाले छलफल गरेकी हुन् ।

बाँके क्षेत्र नम्बर १ लुम्बिनी प्रदेशसभा १ का मा पर्ने वडाहरुमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङ्गा खोलामा तीन किलोमिटर तटबन्धका लागि समेत बजेट दिन अर्थमन्त्रीसँग उनले आग्रह गरेकी छन् । लुम्बिनी प्रदेश सरकारबाट समेत आफ्नो क्षेत्रमा विभिन्न योजनाहरु परेको भन्दै सांसद नमुनाले त्यतिले मात्र नपुगेर विकास माग्दै आफू काठमाण्डौ पुगेको बताइन् ।

‘प्रदेश सरकारले दिने बजेटले मात्र राप्तीसोनारी र नरैनापुरको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘मलाई त्यहाँका जनताले यसले केही गर्छे भनेर दोस्रोपटक जिताएर पठाएका छन् । जनताकै योजना बोकेर काठमाण्डौमा मन्त्रालयका ढोका ढोकामा पुगिरहेकी छु ।’ सांसद नमुनाले केही दिन अघि मात्र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर राप्तीसोनारी र नरैनापुरका लागि थप योजना र बजेट विनियोजन गर्न लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर बाहिर मदिरा बेच्न पाइने

५ पुष २०७९, मंगलवार १२:११
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको हो । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य […]