नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा महिलाहरुलाई रोजगारका अवसरका लागि लैंगिकताले पारेको प्रभाव, अवरोध तथा अवसर को विषयमा सरोकारवाला निकायविच संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रम ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो संवाद कार्यक्रममा सेवा प्रदायक र सेवाग्राहीबीच लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा पर्ने प्रभाव सम्बन्धी बिस्तृत रुपमा छलफल गरिएको थियो ।
सो कार्यक्रममा उद्योग वाणिज्य संघ भुरिगाउँका अध्यक्ष गोविन्द आचार्य, नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता भट्टराई, रोजगार शाखाका संयोजक रविन्द्र अर्याल, इको टुरिजमका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, रेडियो टाइगरका अन्जु चौधरी, होटल अर्गनाइजेशन भुरिगाउँका अध्यक्ष गोपाल निरौला, नारी शिल्प शक्ति केन्द्रका अध्यक्ष मेनका पोखरेल लगायतको सहभागिता रहेको थियो ।
लैङ्गिक समानता र त्यसको रोजगारीमा पार्ने प्रभाव र लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर रोजगारीका अवसरलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा छलफल गरेर निष्कर्शमा पुग्न सो संवाद र अभिमुखिकरणको आयोजना गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताए ।
उनले महिलाहरुको दिर्घकालिन आर्थिक शसक्तिकरणका लागि सो संवाद निकै लाभदायी हुने विश्वास पनि व्यक्त गरे । कार्यक्रमको सहजीकरण बसन्त बिसीले गरेका थिए भने व्यवस्थापन क्लबका फिल्ड सुपरभाइजर कन्चन दहितले गरेका थिए ।