नेपालगञ्ज : नेपालमा आगामी मंसिर ४ गते सम्पन्न aहुने आम निर्वाचनलाई मध्यनजर गरी मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म निर्वाचनको सुरक्षाको लागि नेपाल–भारत सीमा क्षेत्रबाट आवतजावत पूर्ण रुपले बन्द भएको छ । नेपालगञ्जबाट रुपैडिहा जानेहरु सीमा बन्द भएकोले सीमा क्षेत्रबाटै फर्कनु परेको छ ।
जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्वबहादुर खत्रीले मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्मका लागि नेपाल–भारत सीमा क्षेत्रमा आवत जावतको लागि पूर्ण बन्धेज हुने गरी सीमा क्षेत्र ‘शील’ हुने जानकारी दिनुभयो ।
अत्यन्तै ईमरजेन्सी तथा मानविय सम्बेदनशिलता जस्तै औषधी उपचार आदीको लागि अवस्था हेरेर मात्र आवत जावत गर्न सकिन्छ तर, त्यो कुरा अत्यन्तै न्यून मात्रामा मात्र हुने हुँदा बोर्डर पूर्णतया शिल हुने छ ।
भारतीय पक्षले पनि नेपालमा हुन लागेको आम निर्वाचनको सुरक्षाको लागि आफ्नो सीमा क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनु भयो ।
निर्वाचनको सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील रहेको खुला सिमानामा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि अबान्छनिय गतिविधि हुन नदिनको लागि सीमा क्षेत्रमा संयुक्त गस्तीको समेत बन्दोबस्त गरिएको छ ।
बाँकेको झण्डै ७० किलो मिटर भु–भाग भारतसंग खुला सीमाना जोडिएको छ । सुरक्षाको दृष्टिकोणले खुला सीमा अत्यन्तै जोखिम र संवेदनशिल हुने भएकोले भारतीय काउन्टर पार्टसंगको समन्वयमा सीमा क्षेत्रमा संयुक्त गस्ती, नियमित गस्ती गरी चेकजाँच कडा गरिएको छ ।