बाँकेमा सत्तारुढ गठबन्धनविरुद्ध चुनावी कमाण्ड सम्हाल्दै पूर्वमन्त्रीहरू

सदरलाइन संवाददाता १५ कार्तिक २०७९, मंगलवार १३:०५
 

नेपालगञ्ज : बाँकेमा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई जिताउन राप्रपाका नेता तथा पूर्वमन्त्री प्रेम भण्डारी र फत्तेसिंह थारु मैदानमा खटेका छन् ।

पूर्वमन्त्री भण्डारी बाँके क्षेत्र नं. १ र पूर्वमन्त्री थारुले क्षेत्र नं. ३ मा एमाले राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन कमाण्ड सम्हालेका छन् । उनीहरु उम्मेदवार सँगसँगै निर्वाचन क्षेत्र अन्तर्गतका गाउँवस्तीमा पुग्ने गरेका छन् ।

क्षेत्र नं. १ का पूर्व सांसद समेत रहेका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर चुनावी अभियानमा रहेका छन् । नरैनापुरको पनि विकट क्षेत्रका रुपमा रहेको सीमावर्ती क्षेत्र वडा नं. २ रोशनपुर्वा र घोडदौरिया लगायतका स्थानमा भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेलसहित चुनावी प्रचार गरिएको छ ।

राप्रपाका बरिष्ठ नेता थारु क्षेत्र नं. ३ मा एमाले उम्मेदवार उम्मेदवारसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुग्ने गरेका छन् । बाँके क्षेत्र नं. ३ क मा केही दिनयता पूर्वमन्त्री एवम् राप्रपा नेता थारुको प्रमुख आतिथ्यमा नेकपा एमाले–राप्रपाको औपचारिक र अनौपचारिक चुनावी कार्यक्रम भईरहेका छन् । पूर्वमन्त्री थारुले एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ इतिहास रच्ने अवसर प्राप्त भएको बताए ।

उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिए ।


बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता, कार्यकर्ता तथा जनतासमेत उत्साहित भएको नेकपा एमाले राप्तीसोनारीका युवा नेता माधव पौडेलले बताए । दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उनको दावी छ ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार डा. धवलसम्शेर राणा र प्रदेश सभातर्फ बाँके क्षेत्र नं. १ क मा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेललाई सघाउने भएको छ । अन्य निर्वाचन क्षेत्रमा राप्रपाले नेकपा एमालेका उम्मेदवारलाई सघाउने गरी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

नेकपा एमालेबाट बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा केन्द्रीय सदस्य सूर्य ढकाल, प्रदेश ख मा दुर्गा थारु (सन्तोष), बाँके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क मा पार्टी सचिव रत्न खत्री र प्रदेश ख मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बनेका छन् ।

राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशम्शेर राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन भन्दा खाद्यान्न जोहोको चिन्तामा नरैनापुरवासी

१५ कार्तिक २०७९, मंगलवार १३:०५
नरैनापुर (बाँके) : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेको नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्षातमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँझै रहेको छ । अलि अलि रोपेको धान […]

सम्बन्धित