बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो । तर दशैंमा पनि सुचारु हुन नसकेको हो ।
समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै आएकोमा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान सेवा बन्द छ । कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो । यसअघि दशैंलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा हवाई उडान हुने जनाइएको थियो ।
माथिबाटै दशैंमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भएपनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिए ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । भट्टले भने, ’दशैंतहारको बेला यात्रु नियमित रुपमा पाइन्छन् भनेर असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन् ।’
यसअघि बिहीबार हुदैं आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी–बैतडी –धनगढी उडान हुने समिट एयरले जनाएको थियो । दशैंमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ ।