नेपालगञ्ज : पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा डुबेको छ । तुर्माखाँद, कमलबजार र ढकारीमा पहिरोले २१ जनाको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पुष्टि गरेका छन् ।
तुर्माखाँद र ढकारीमा गरी दुई जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनामा घाइते भएका तीन जनाको सुर्खेत र तीन जनाको मङ्गलसेनमा उपचार भइरहेको छ ।
शुक्रवार राति खसेको पहिरोले घरभित्रै च्यापिएर मानवीय क्षति भएको हो । कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका पालिका हुन् । शुक्रवार राति ठूलो पानी परेको र जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएका तथा केही भत्काएका छन् ।
घरबारविहीन भएकाहरु कोही आफन्तकोमा र केहीलाई नजिकै सुरक्षित ठाउँमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनका अनुसार राहत र बसोबास व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग गरिएको छ ।
अहिले पालिकाले विपद् कोषबाट आवश्यक व्यवस्थापन मिलाएका छन् । जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई राहत पालिकाबाट उपलब्ध गराउन भनेको छ । पहिरोले ग्रामीण सडक बगाएको छ ।