राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको सरस्वती माध्यमिक बिद्यालय पनेरियामा बेथिती बढेको छ । बिद्यालयले विगत तीन वर्षदेखि लेखा परिक्षण गरेको छैन भने दुई वर्षदेखि बिद्यार्थीलाई छात्रबृत्तीसमेत वितरण गरिएको छैन ।
बिद्यालयमा कार्यरत कतिपय शिक्षकले लामो समयदेखि तलब खान पाएका छैनन् । बिद्यालयमा एउटै ब्यक्तिले बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर चलाइरहने, प्रधानाध्यापक फेरबदल भइरहने, बिद्यालयको हिसाब किताब भद्रगोल हुन थालेपछि अभिभावकले असन्तुष्टी ब्यक्त गरेका छन् । विद्यालयको पढाई ठिक नभएको अभिभावकहरुले गुनासो गरेका छन् ।
व्यवस्थापन समिति नै सबैभन्दा कमजोर भएको र शिक्षकहरु समयमा नआउने गरेको अभिभावक गोपाल बहादुर खड्काको भनाई छ । आफु २०७७ साउन महिनादेखि तलब नपाएको एक शिक्षकले बताएका छन् ।
आफु २०५७ सालदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर बसेको र सबै कुरो आफुले व्यवस्थापन गरेको अध्यक्ष राजकुमार बुढाको दाबी छ । आफुले विद्यालयको स्थापना गरेको बताउँदै उनले शिक्षक शिक्षिकाहरुले राजनैतिक पुर्वाग्रहले नपढाईदिने र अनावश्यक गुटउपगुट बनाउने गरेको आरोप लगाए ।
राप्तीसोनारी वडा नं. ६ का वडाध्यक्ष लवराज खरेलले आफु निर्वाचित भएर आईसकेपछि बिद्यालयमा छड्के गर्दा प्रधानाध्यापक विहिन भएको २९ दिन भएको बताए । विद्यालय व्यवस्थापन समितिले आफ्नो मनपरी गरेको, लामो समयदेखि पढाएका शिक्षिकाहरुको नियुक्ती नभएको साथै दुई वर्षदेखि पढाई राखेका शिक्षकहरुले तलब खान नपाएको उनले बताए ।
विद्यालयमा शुसासन भनेको पटक्कै नभएको उनको आरोप छ । वडाध्यक्ष खरेलले शिक्षा ऐनमा प्रधानाध्यापक र लेखापालको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनुपर्ने भनिए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दस्तखतबाट खाता सञ्चालन गरेको बताए ।