अत्यधिक गर्मीले बाँकेसहित तराइका जिल्लाको जनजीवन प्रभावित

सदरलाइन संवाददाता ३२ असार २०७९, शनिबार १३:३९
 

नेपालगञ्ज : तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले बाँकेसहित तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

नेपालगञ्जसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ । बिहान सबेरैदेखि साँझसम्म नै एकनाशले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको छ ।

बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसलाई मध्यान्हको समयमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।


दिनमा मुख्य बजारका सडक सुनसान हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

दिनभरि सडक र सरकारी कार्यालय सुनसान रहने गरेको छ । चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो । पानी नपरेर अत्यधिक गर्मी हुँदा गर्मीजन्य संक्रमणका बिरामी पनि बढिरहेका छन् ।

गर्मीका कारण घाउ, खटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टाले पहिलोपल्ट पूर्वी नहरमा छोड्यो ७ क्युमेक्स पानी

३२ असार २०७९, शनिबार १३:३९
नेपालगञ्ज : लामो खडेरीपछि बाँकेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा ७ क्युमेक्स पानी छोडेको छ । नहरमा पानी बगेपछि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानलाई राहत हुने भएको छ । असार सकिन लाग्दा पनि बाँकेमा पानी परेको छैन । आयोजनाका निर्देशक सन्तोष कैनीका अनुसार फत्तेपुर क्षेत्रका किसानले […]