नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरमा मानव सेवा आश्रम सञ्चालनमा आएको छ । १९ औं जिल्ला शाखाकोरुपमा नेपालगञ्जमा आश्रम संचालनमा आएको हो । उक्त आश्रमको औपचारिकरुपमा शनिवार उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले मानवता प्रबर्धन महाअभियानमा स्थानीय सरकारको सहयोगको प्रतिबद्धता रहेको बताए । उनले वेसाहारा मानिसहरुलाई आश्रयस्थल दिएर उनीहरुको सेवामा समर्पित हुनु चानचुने मानवीय सेवा नभएको भन्दै मानवता प्रबर्धन महाअभियानमा सहयोगको आव्हान समेत गरे ।
यस्तै उपमेयर कमरुद्दिन राईले मानव सेवा प्रति सबैको भावना जागृत गराउन आवश्यक रहेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जसको कोही हुदैन उसको लागि आश्रमस्थल उपयोगी भएको बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, पत्रकार महासंघका लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायतले आश्रमस्थल सफलताको शुभकामना दिएका थिए ।