नेपालगञ्ज : लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले बोटविरुवाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।
‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने मुख्य उद्देश्यसहित बाँकेको कोहलपुरमा सोमवार आयोजित बृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री हमालले रोपिएका विरुवाहरुको संरक्षण गर्नु राज्यको मात्र नभई स्थानीयबासीको पनि दायित्व भएको बताए ।
लुम्बिनी प्रदेश सरकारले ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत् सडक किनार र डिभाइडरमा बृक्षारोपण गर्ने अभियान थालेको मन्त्री हमालले बताए । कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरलाई हरित नगरीको रुपमा विकास गर्ने योजना रहेको बताए ।
उनले बृक्षारोपण गर्ने तर त्यसको संरक्षणमा पहल नगर्ने प्रवृत्तिलाई स्थानीय सरकारले निरुत्साहित गर्ने उल्लेख गर्दै रोपिएका विरुवाहरुको संरक्षणमा नगरबासीको ध्यानाकर्षण समेत गराए ।
डिजिजन वन कार्यालय नेपालगञ्जका प्रमुख अजितकुमार कर्णले प्रदेश सरकारको लगानीमा कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत् पर्ने वडा नम्वर ८, ९ र १४ मा ८ सय ५६ वटा छतिवन जातका विरुवा रोपिएको जानकारी दिए । उनले ती विरुवाहरुको संरक्षणका लागि कार्यालयले तारवार गरेको जानकारी दिए ।
बृक्षारोपण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदी, वडा नम्वर ८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नम्वर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, १४ का वडा अध्यक्ष नमबहादुर आले, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले लगायतको सहभागिता थियो ।