२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

राप्तीनदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह



फाइल तस्बिर

नेपालगञ्ज : राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो ६ घण्टामा बाँकेमा १५० मिलिमिटर वर्षा मापन भएको छ । दिउँसो २ बजे राप्ती नदीमा पानीको सतह ४ दशमलव ०९९ मिटर रहेको छ । बुधवार दिनभरि मध्यम वर्षात भइरहेकाले राप्ती नदीमा पानीको सतह बढ्न सक्नेछ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधबार
ताजा समाचार