नेपालगञ्ज : बाँकेमा विद्युतीय सवारीका लागि पहिलो पटक चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । कोहलपुर चौराहास्थित बीबी इन्टरप्राइजेजले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो ।
विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सो इन्टरप्राइजेजले जनाएको छ । बीबी इन्टरप्राइजेजका सञ्चालक विष्णु खनालले अब चार्जिङ प्वाइन्ट (स्टेसन)को अभावमा समस्यामा परेका सवारीसाधनलाई सहज हुने बताए ।
अहिले पनि दैनिक सातवटा विद्युतीय गाडीले सेवा लिइरहेका छन् । अनौपचारिक रूपमा गाडी जार्च गर्ने र रिफ्रेस सेन्टरका लागि भौतिक संरचना निर्माणकार्य भइरहेको छ । चार्ज गरेको प्रति युनिट १२ रुपैयाँ मात्रै पर्छ । बाँके जिल्लामा रहेका विद्युतीय सवारीसाधनका अतिरिक्त कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशलगायतका सवारीसाधनले सो सुविधा पाउने छन् ।
त्यस्तै, विद्युतीय चार्ज स्टेसन कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विस्तार गरिने योजना रहेको सञ्चालक खनालले बताए । विद्युतीय चार्जिङ प्वाइन्ट स्थापनाका लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको दुई कट्ठा जग्गा १० वर्षका लागि मासिक २० हजार रुपैयाँ भाडामा लिएको छ ।