नेपालगञ्ज : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा बाँकेका राजनितिक दलहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल, वस्ती र घर–घरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ ।
मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु गरेका छन् । घरहरुमा विभिन्न पार्टीका झण्डाहरु फहराएका छन् । जसले गर्दा गाउँघरमा चुनावी माहोल छाएको छ । टोलछिमेकमा उम्मेदवारका वारेमा बहस र छलफल सुरु भएको छ ।
जिल्लाका ८ वटै स्थानीय तहका उम्मेदवारहरु यतिखेर मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका छन् । स्थानीय तहको विकास र समृद्धिको मुख्य नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका हुन । उम्मेदवारहरुले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँगको भेटघाटलाई तिव्रता दिएका छन् ।
जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र संघिय समाजवादी, लगायत साना दल तथा स्वतन्त्र उम्मेद्धारहरुले समेत चुनावी घोषणा पत्र लिएर मतदाताका घर घरमा पुग्न थालेपछि गाउँमा राजनैतिक जागरण छाएको छ । उम्मेदवारहरु घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित देखिन्छन् । गाउँको विकासको योजना सहित उम्मेदवारहरु घरमा आउन थालेपछि आफुलाई खुसी लागेको फुल्टेक्राका विष्णु कुम्हालले बताउछन् ।
नेकपा एमालेले जिल्लाका सवै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरेको प्रचार विभागका प्रमुख सतिस निरौला बताउछन् । अभियानका क्रममा घरदैलो र चुनावी सभाका कार्यक्रम भएको उनले बताए । जिल्लाका ८ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
यस्तै नेपाली काँग्रेसले बिहान र साँझमा मतदाताका घरघरमा पुगेर भेटघाट गर्ने गरेको छ । उम्मेदवारहरुलाई मतदाताका घर–घरमा पुर्याएर परिचय गर्ने र मत माग्ने कार्यक्रम सञ्चालन गरेको नेपाली काँग्रेस बाँकेका जिल्ला सभापति नारायण गौडेलले जानकारी दिए । नगर तथा पालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार र वडाध्यक्षका उम्मेदवार सहित जिल्लाभर एकसाथ चुनावी अभियान सञ्चालन गरिएको उनले बताए ।
सत्ता साझेदार दलभित्र चुनावि तालमेल नमिलेपछि नेपालगञ्जमा सत्तागठबन्धनबाट बाहिरिएको माओवादीले पनि चुनावी अभियान लिएर गाउँ पसेको छ ।
मतदाताका घरघरमा पुग्दा उम्मेदवारहरुले जनताका साना साना समस्याहरुलाई उठान गरेका छन् । टोलवस्तीका समस्याहरुलाई आफुहरुले प्राथमिकतामा राखेको नेकपा एमालेबाट नेपालगञ्ज नगरका प्रत्यासी पशुपति दयाल मिश्रले जानकारी दिए ।
आफुले स्थानीय सरकारको प्रमुखको जिम्मा पाएको खण्डमा नगरमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र स्टार्टअप कल्चरको क्षेत्रमा योगदान दिने मेयरका प्रत्यासी मिश्रले प्रतिबद्धता जनाए ।
आफुहरु निर्वाचित भएर आएमा सडक कालोपत्रे, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउने नगरका उपमेयरका उम्मेद्धार शान्ति ढकालले बताईन् ।