नेपालगञ्ज : नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।
‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानूनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भने ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ ।’
आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्बद्ध पत्रकारलाई उनले निर्देशन दिए ।
‘प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो, पार्टी र युनियनबीच समन्वय र सहकार्य हुनुपर्छ, प्रेस युनियनको भूमिकालाई पार्टीले राम्रोसँग चिन्नु पर्दछ,’ अध्यक्ष सिग्देलले भने ।
स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरिएकोले पार्टीले बनाएको आधिकारिक उम्मेदवारलाई जिताउन युनियन अग्रसर हुनुपर्ने उनको धारणा छ ।
प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने सिग्देलले बताए । विभिन्न परिस्थितीका कारण युनियनको महाधिवेशन पछाडी धकेलिएको र आफु नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।
‘युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौँडामा भब्य रुपमा सम्पन्न हुनेछ, यसका लागि म सबै साथीहरुलाई सकृयताका साथ लाग्न आग्रह गर्दछु,’ उनले भने ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको भेटघाट कार्यक्रममा अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई लगायतले युनियनको महाधिवेशन र स्थानीय तह निर्वाचनमा युनियनले खेल्नुपर्ने भूमिका लगायत विषयमा आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्