नेपालगञ्ज : माओवादी केन्द्रबाट नेपालगञ्ज उपमहानगरपालिका मेयरका दाबेदार नन्दलाल वैश्य बिहीबार राप्रपा प्रवेश गरेका छन् । उनी राप्रपाको तर्फबाट नेपालगञ्जको मेयरका उम्मेदवार बन्ने समाचार ‘सदरलाइन डट कम’ ले २६ चैत्रमा नै पहिलो पटक प्रकाशन गरेको थियो ।
यो समाचार पढौ ।
सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने गरी काठमाडौंमा सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गर्दै मेयरका उम्मेदवार बन्ने भएका हुन् ।
वैश्य माओवादी केन्द्रबाट नेपालगञ्ज उद्योग व्यापार संघको अध्यक्ष भइसकेका स्थानीय व्यवसायी हुन् । वैश्य समुदायमा उनको पकड छ । उनको राप्रपा प्रवेशले नेपालगञ्ज उपमहानगरपालिकाको चुनावलाई बहुपक्षीय प्रतिस्पर्धामा धकेलेको छ ।
सत्ता गठबन्धनको एउटा दल जसपाले बाँकेको नेपालगञ्जलगायतका पालिकामा उम्मेदवारी दिने घोषणा गरेको छ । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई मेयरमा उठ्दैछन् । एमालेले पार्टी केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र र शान्ति ढकाललाई मेयर तथा उपमेयर उठाउने निर्णय गरिसकेको छ ।
गठबन्धनबाट नेपालगञ्ज मेयरमा कांग्रेसका उम्मेदवार उठ्ने निर्णय भइसकेको छ । नगर सभापति प्रशान्त विष्ट, हालकी उपमेयर उमा थापा मगर र अघिल्लो निर्वाचनका निकटतम् प्रतिद्वन्द्वी डा. सुरेशकुमार कनौडिया उम्मेदवार हुने दौडमा छन् । फोटो ऋषिराज देवकोटाको फेशबुकवालबाट