सुर्खेतमा एक्लै परेको हिमाली गिद्ध नवलपरासीको जटायु रेष्टुरेन्टमा पठाइयो

सदरलाइन संवाददाता ६ बैशाख २०७९, मंगलवार १७:१६
 

सुर्खेत : समूहबाट छुटेर सुर्खेतमा एक्लिएको हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ।

उक्त गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीमा रहेको जटायु रेष्टुरेन्टलाई जिम्मा लगाइएको हो।

साढे २ महिनाअघि समूहबाट छुटेको यो हिमाली गिद्धलाई सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा राखिएको थियो। जंगलमा राखिएको गिद्धको स्याहार भने स्थानीय नवराज बोहोराको अगुवाइमा केही युवा तथा पशु चिकित्सकले गरिरहेका थिए।

सोमबार बोहोराकै जिम्मामा त्यो हिमाली गिद्धलाई जटायु रेष्टुरेन्टमा पठाइएको हो। डिभिजन वन कार्यालय वीरेन्द्रनगरले २०७८ चैत २९ गतेको मितिमा गिद्धलाई नवलपरासी पठाइएको पत्र काटेको छ।


सुर्खेतमा सामान्य उपचारपछि गिद्धलाई थप उपचारका लागि गिद्धकै लागि बनेको जटायु रेष्टुरेन्ट पुर्‍याउन लागिएको बोहोराले बताए।

आफ्नो समूहबाट छुटेपछि एक्लै परेको दुर्लभ पंक्षी मानिने हिमाली गिद्धलाई केही समय डिभिजन वन कार्यालय सुर्खेतमा पनि राखिएको थियो।

यो गिद्ध कसरी यहाँ आएर एक्लियो भन्ने यकिन छैन। यसलाई स्याहार गरिरहेकाहरूले सुर्खेतको आकाशमा समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरेका छन्।

डिभिजन वन कार्यालयका अनुसार उक्त गिद्ध वीरेन्द्रनगर उपत्यकाभन्दा माथि झन्डै ३० किलोमिटर आसपासमा पर्ने जंगलमा भेटिएको हो। उड्न नसक्ने अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

एक महिना जति काँक्रेबिहार जंगलमा राखेर गरिएको उपचारपछि गिद्धको अवस्थामा सुधार हुँदै गएको थियो। पूर्ण रूपमा उड्न नसकेपछि थप उपचार र व्यवस्थापनका लागि नवलपरासी पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक डेढ दशकपछि खुल्यो

६ बैशाख २०७९, मंगलवार १७:१६
धनगढी : धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ। कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया-दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो। धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्‍चालनका लागि ग्रेडिङ गर्न बाँकी छ। […]