नरैनापुर इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने

सदरलाइन संवाददाता १३ चैत्र २०७८, आईतवार १८:५३
 

नेपालगञ्ज : तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने भएको छ। लामो दूरी पार गर्दै जिल्ला सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता भएपछि स्थानीयहरुले इलाका प्रशासन कार्यालय पुनर्स्थापनाको माग गरेका थिए। सोहीअनुसार यहाँ इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने भएको हो।

हाल इलाका प्रशासन कार्यालय नरैनापुर नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन भइरहेको छ। नागरिकतालगायत प्रशासनका सबै सेवाहरु लिन नरैनापुरवासीहरु अहिले पनि ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगन्ज पुग्न बाध्य छन्।

यस विषयमा स्थानीयवासीहरुको पहिलेदेखि नै इलाका प्रशासन नरैनापुरमै सार्न माग गर्दै आएका थिए। उक्त मागका विषयमा बाँकेको प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै प्रजिअ सूर्यबहादुर खत्रीले प्रयास थालेका थिए। पछिल्लो समय निर्वाचन नजिकिएपछि नेकपा एमाले र नेपाली कांग्रेसले पनि इलाका प्रशासन यथा–स्थानमै सार्न जिल्ला प्रशासन कार्यालयलाई दबाब दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालयले एकजना कार्यालय प्रमुखको व्यवस्थाका लागि पहल गर्दै इलाका प्रशासनका लागि पाँच कोठे भवनको व्यवस्था गर्न गाउँपालिकालाई पत्र लेखेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।


इलाका प्रशासनका लागि भाडा तिर्ने बजेट नभएकोले गाउँपालिकाले त्यसको व्यवस्था गरिदिनुपर्ने खत्रीले बताए। अब गाउँपालिकाले भवनको व्यवस्था गरिदिने बित्तिकै कार्यालय सारिने उनले बताए। इलाका प्रशासन नरैनापुरमा सर्ने भएपछि गृह मन्त्रालयले एकजना कार्यालय प्रमुखको व्यवस्था पनि गरिदिन लागेको खत्रीले बताए। उता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जिल्ला प्रशासनको पत्र प्राप्त भएपछि आफूहरु भवनको खोजीमा लागेको जानकारी दिए। अब भवनकै कारण इलाका प्रशासन गाउँपालिकामा आउन नरोकिने पनि उनले बताएका छन्। एक दुईवटा भवनहरु त्यसका लागि उपयुक्त देखिएको बताउँदै उनले केही दिनमा भवनको टुंगो लगाइने बताए।

इलाका प्रशासन नेपालगन्जमा हुँदा नागरिकले शारीरिक सास्तीका साथै समय, पैसा फजुल खर्च भइरहेको छ। सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालयजस्तै इलाका प्रशासन कार्यालय नरैनापुर पनि नेपालगन्ज सारिएको थियो। तर, शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा र अरु ठाउँका कार्यालयहरु आआफ्नो कार्यक्षेत्रमा फर्किसक्दा पनि नरैनापुर क्षेत्रलाई सेवा दिन भनेर स्थापना गरिएको कार्यालय भने नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमै राखिएको छ।

शान्ति सम्झौतापछि इलाका प्रशासन कार्यालय नरैनापुरमा गएर सेवा दिन सुरु पनि गरेको हो। तर गम्भीर सुरक्षा चुनौति देखिएको भन्दै आर्थिक वर्ष २०७०–०७१ सालमा नेपालगन्ज सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचनः एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

१३ चैत्र २०७८, आईतवार १८:५३
नेपालगन्जः आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ। स्वयंसेवकबाहेक उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो। जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। कार्यालयले निर्वाचनका लागि आवश्यक […]