बैतडी : बैतडीको पाटन नगरपालिकाले मंगलबार शोक बिदा दिएको छ । सोमबार दिउँसो भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको ज्यान गएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।
दुर्घटनामा विद्यार्थीको ज्यान गएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
सोमवार दिउँसो भएको टिपर दुर्घटनामा परि तीन जनाको घटनास्थलमै ज्यान गएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेलधुरा अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।