काठमाण्डौ : भारतको जम्मु–कश्मीरस्थित माता वैष्णोदेवी मन्दिरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्षको दिन श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो ।
उक्त घटनामा कम्तीमा २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वैष्णोदेवी मन्दिरको त्रिकुटा पहाडमा अवस्थित गर्भगृह क्षेत्रमा घटना भएको हो । शुक्रवार पौने २ बजे मन्दिर क्षेत्रमा दुई समूहको सामान्य विवादमा धकेलाधकेल भएको र त्यसपछि भागदौडको स्थिति उत्पन्न भएको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतले शोक व्यक्त गरेका छन् । भागदौडमा मृत्यु भएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट भारतीय दुईदुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता मोदीले व्यक्त गरेका छन् ।