नेपालगञ्ज : मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा रहेका रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीले अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको जानकारी दिए ।
दुई जनाको उपचाकाका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए । साहानीका अनुसार मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन् । मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेको उनले जानकारी दिए ।
‘मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विदार्थी छन, साहानीले भने, ‘दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन् ।’ उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको उनले बताए ।
‘ज्यान गुमाउने सबै स्थानीय छन्, आफन्तहरू जम्मा भएर सनाखत गर्ने काम भइरहेको छ’ साहानीले भने, ‘आफन्तहरूको भीडले गर्दा सनाखत गर्नै मुस्किल छ ।’
साहानीका अनुसार बस करिब पाँच सय मिटर तल खोलामा खसेको छ । बस टुक्राटुक्रा भएको छ । घाइते १८ जनालाई उपचारका लागि हेलिकप्टरबाट अन्यत्र पठाइएको उनले बताए ।