नेपालगञ्ज : प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लबको संयोजनमा बाँकेमा कोरोना महामारीको संभावित तेस्रो लहरको तयारीलाई ध्यानमा राखेर स्थानीय तह र अस्पताललाई झन सक्षम बनाउन विभिन्न करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।
नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज उपमहानगर, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिकामा समेत गरेर करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र अध्यक्ष राजेन्द्र चौधरीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगञ्ज उपमहानगरका कार्यवाहक मेयर उमाथापा मगर र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति तथा उपाध्यक्ष एकमाया विकलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रमहरु खजुरा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ गेलालले संभावित तेस्रो लहरको नियन्त्रणको लागि तयारीमा जुटेको बेला प्राप्त भएको यो सहयोगले अझ तयारीलाई बलियो बनाउने जनाउँदै स्वास्थ्यकर्मीको मनोवल उच्च हुनेसमेत दाबी गरे ।
प्रमुख जिल्ला अधिकारी गेलालले सो स्वास्थ्य सामाग्रीलाई भेरी अस्पताल विकास समितिका सदस्यहरु कृष्णप्रसाद श्रेष्ठ र धनिराम ओलीलाई आफुले पाउने वित्तिकै हस्तान्तरण गरेका थिए ।
यसैगरी सोही प्रकारको सामाग्रीहरु नेपालगञ्ज उपमहानगरका कार्यवाहक मेयर उमाथापा मगर र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति तथा उपाध्यक्ष एकमाया विकलाई पनि संबन्धित पालिकामा हस्तान्त्रण गरिएको थियो । उनीहरु सबैले प्लानको यो सहयोगले आफुहरुलाई थप उत्साहित बनाएको जनाउँदै यसले कोरोना नियन्त्रणमा ठूलो मद्दत गर्ने बताएका थिए ।
प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुलीले कोरोना महामारीबाट जोगिनको लागि स्थानीय तहको तयारीलाई थप सहयोग गर्ने उदेश्यले यी सहयोगी सामाग्री हस्तान्त्रण गरिएको जनाउँदै कोभिड १९ विरुद्धको संघर्षमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन । उनले यी र यस्तै अन्य सबै सामाग्रीको सदुपयोगमा विशेष ध्यान दिन सम्बन्धितहरुलाई आग्रह गरिन ।
सो अवसरमा प्लान नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, बाँके युनेस्को क्लबका महासचिव मिना तुलाधर, कार्य समिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर, वित्त प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक महेश नेपाली, कार्यक्रम अधिकृत अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।