दैलेख : दैलेखको नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । हत्याको कारण घरयासी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरयासी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९ः३० बजे हत्या गरेका हुन् ।
प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको थाहाखबरलाई बताए । श्रीमानको हत्या गर्ने सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यस्तै, जिल्लाको भगवतीमाई गाउँपालिका–४ कि १७ वर्षीया किशोरी टीका बिसीको भीरबाट लडेर मृत्यु भएको छ । गोठालो गएका बेलामा बिहीबार साँझ भीरबाट लडेकी उनको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा मृत्यु भएको हो ।
उनीसँगै गएकी १५ वर्षीय रोशनी थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । रोशनीको थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर करिब २ सय मिटर तल खसेको अवस्थामा दुवै जनाको प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।