नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा कार्यरत ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयम सेविकालाई बिदाई गर्नुको साथै नयाँ भर्ना गरिएकालाई स्वागत गरिएको छ । गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले उनीहरुलाई जनही २० हजार प्रमाणपत्र र दोसल्ला ओढाएर बिदाई गर्नुको साथै नयाँलाई स्वागत गरेका थिए ।
लक्ष्मणपुर स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा ६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकालाई बिदाई गर्दै गाउपालिकाका अध्यक्ष शाहले नरैनापुरको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन उल्लेखनिय भुमिका निर्वाह गरेकोमा धन्यबाद व्यक्त गरेका थिए । उनले सेवामा नयाँ प्रवेश गरेकालाई आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न आग्रह गरे ।
विगतमा नरैनापुरमा स्वास्थका कुनै पनि पुर्वाधार नहुँदाका वर्षौदेखि महिला स्वास्थ्य स्वयं सेविकाले यहाँको स्वास्थ्य क्षेत्रमा अहम् र महत्वपुण भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष शाहले भने–‘नरैनापुरले कालान्तरसम्म तपाईले दिएको योगदानको कदर गर्ने छ ।’
यस्तै नयाँ नियुक्त भएका स्वयम सेविकालाई स्वयम सेविकाको बोर्ड तथा प्रमाणपत्र दिएर स्वागत गरिएको थियो । उनीहरुलाई दुई चरणमा गरी ९–९ दिनको तालिम दिई कार्यक्षेत्रमा पठाईएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाहले जानकारी दिए ।
महिला स्वास्थ्य स्वयंम सेविकाले मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथामिक स्वास्थ्य सेवा, खोप सेवा र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी महत्वपुर्ण अभियानमा अहम् भुमिका खेल्दै आएका छन् ।
उनीहरुलाई स्वास्थ्य कार्यालय बाँके र नरैनापुर गाउपालिकाले संयुक्त रुपले सन्चालन गरेको १८ दिने तालिममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, लक्ष्मणपुर स्वास्थ्य केन्द्रका प्रमुख डा. सागर पन्त, जनस्वास्थ्य अधिकृत पूर्णबहादुर खड्कालगायतले तलिमको सहजिकरण गरेका थिए ।