नेपालगञ्ज : सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ४६ जना स्वास्थ्यकर्मी ७४ दिनदेखि कामविहीन भएका छन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आएका उनीहरुलाई नगरपालिकाले हाजिर नलाउँदा वेकामे भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गरि पठाएका ४९ स्वास्थ्यकर्मीमध्ये नगरपालिकाले ३ जनालाई मात्रै काममा खटाएको र बाँकीलाई कुनैपनि जिम्मेवारी दिएको छैन् । ती ३ जना चैतमा हाजिर भएका थिए ।
सबै कर्मचारी समायोजन मिलनसम्बन्धी मापदण्ड–२०७७ बमोजिम नै सरुवा भई आएका हुन् । दुवै पालिकाको सहमति भएर आफुहरु आएपनि अहिलेसम्म नगरपालिकाले हाजिर नलगाएको जनस्वास्थ्य निरीक्षक चर्तुभूज गौतमले बताए । उनले आजसम्म माग सम्वोधन नभए न्यायलय पुग्ने चेतावनी दिए ।
‘अहिलेसम्म हामीलाई वेकामे बनाइयो उनले भने–‘साथीहरुसँग छलफल गरेर रिट हाल्ने तयारीमा छौं ।’ मन्त्रालयले लिखित रुपमा पटक पटक हाजिर गराई नियमीत कामकाजमा खटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म पनि आफुहरुलाई काममा नलगाइएको भन्दै रुष्ट भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले दरबन्दीभन्दा बढी कर्मचारी आउँदा समस्या भएको बताए । नगरपालिकामा ३८ स्वास्थ्यकर्मीको दरबन्दी छ ।
अहिले थप ५३ स्वास्थ्यकर्मी सरुवा भएर आएपछि समस्या भएको उनको भनाइ छ । उनले नगरपालिकाले सहरी स्वास्थ्य क्लिनिकका लागि १६ जना माग गरेकोमा ५३ जनालाई पठाइएकोले समस्या भएको बताए । ‘मन्त्रालयले पालिकाबाटै तलव खुवाउने गरी परिपत्र गरेको छ उनले भने–‘हामी तलव खुवाउने स्थितिमा छैनौं ।’
उनले एक दुई दिनमा समस्या समाधानको बाटो खोजिने पनि उल्लेख गरे । स्थानिय तहबाटै तलवभत्ता खुवाउनेगरी हाजिर लगाउनु भनेपछि समस्या भएको उनको भनाइ छ ।
समायोजनका लागि ५३ जनाले फारम भरेपनि ४ जना भने नआएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको गत चैत २६ गते मन्त्रीस्तर र चैत ३१ गतेको सचिव स्तरको निर्णय अनुसार समायोजन मिलान गरि ती स्वास्थ्यकर्मीलाई वीरेन्द्रनगर पठाइएको थियो ।
हाजिर हुन नपाउँदा उनीहरुले तलबभत्ता पाउन सकेका छै्रन् । ३ जनाले चैत महिनादेखि र ४६ जनाले बैशाख महिनादेखि तलव नपाएको बताएका छन् ।