नेपालगञ्ज : विश्वभर फैलने क्रममा रहेको कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टाको संक्रमणबाट जोगिन मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरीलाई कायम राख्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
नेपाल पनि डेल्टा भाइरसको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । कतिपय खोप अभियान चलाइरहेका मुलुकले मास्क लगाउने नियमलाई खुकुलो बनाएपछि डब्लुएचओले त्यसो नगर्न समेत भनेको छ ।
पहिलोपटक भारतमा भेटिएको कोरोनाको डेल्टा प्रजाति अहिले नेपालसहितका अन्य मुलुकमा फैलिएको छ । नेपालमा त डेल्टाको उत्परिवर्तन डेल्टा प्लस समेत भेटिएको छ ।
‘डेल्टा प्रजाति फैलिनुको अर्थ मास्कको प्रयोग, साबुनपानीले हात धुनु र सामाजिक दूरी अनिवार्यरुपमा बनाउनु नै हो’ डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भने ।
डब्लुएचओका बरिष्ठ सल्लाहकार ब्रुस एलवार्डले पुरै डोज खोप लगाइसकेकाले पनि मास्क लगाउनुपर्ने जरुरी रहेको बताए । ‘दुबै डोज लगाएकाले पनि संक्रमणको चेन ब्रेक गर्नको लागि मास्क लगाउनु जरुरी छ’ उनको भनाइ छ । डेल्टा प्रजातिलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्न (संवेदनशिल प्रजाति) भनेको छ ।