टियुको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

सदरलाइन संवाददाता ९ असार २०७८, बुधबार ०८:३३
 


काठमाडौं  : कोरोना कहर ओरालो लादै गर्दा त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ । कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ ।

वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्थी भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परीक्षा लिन लागिएको हो । विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।


विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको हो । सामान्य अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ । यसका लागि परीक्षा केन्द्र थप गर्नुपर्ने अवस्था आउने जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् ।

विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ । विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ । जनताटाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा कोरोना संक्रमण दर बढ्दै

९ असार २०७८, बुधबार ०८:३३
नेपालगञ्ज : बर्दियामा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ । समुदायस्तरमा परीक्षण दर बढेसँगै जिल्लामा संक्रमण दर बढ्दै गएको कोभिड उपचार र व्यवस्थापनमा खटिएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए । बर्दियामा दैनिक एक सयको हाराहारीमा नमुना परीक्षण भइरहेको छ । तीमध्ये ५० प्रतिशतबढीमा भाइरस संक्रमण पुष्टि भइरहेको श्रेष्ठले बताए […]