नेपालगञ्ज : सोमवार विश्व योग दिवस मनाईंदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन शुरु गरिएको हो ।
सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।
आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् ।
गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए ।