बर्दिया (गुलरिया) : बर्दिया पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना गरी पैदलयात्रीलाई घाइते बनाएर फरार रहेका एक जना आरोपीलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ९ माछागढमा गतसोमवार पैदलयात्रीलाई ठक्कर दिइ गम्भीर घाइते बनाएर मोटरसाइकल सहित फरार रहेका ककौरा निवासी ३६ वर्षीय रामभरोसे थारुलाई भे ३ प १२५४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीषक ईश्वर कार्कीले जानकारी दिए ।
मोटरसाइकल र्दुघटना गरी फरार रहेका थारुलाई लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बाँसगढीको टोलीले शनिवार पक्राउ गरी बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक कार्कीले बताए ।
थारुले चलाएको मोटरसाइकलबाट ठक्कर दिइ घाइते बाँसगढी नगरपालिका वेलौरी निवासी प्रेमी थारुको नेपालगञ्ज मेडीकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा गत बुधवार मृत्यु भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकोले अपराधमा संलग्न व्यक्तिलाई कारवाही गरिने एसपी कार्कीले जानकारी दिए । घटनास्थल प्रहरी चौकी नभएको स्थानमा रहेकाले लामो अनुसन्धानपछि दुर्घटना गरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।