रुकुम (पूर्व) : रुकुम पश्चिमको एक बुडुमष्टको मन्दिरमा चोरी भएको छ । बाँफिकोट गाउँपालिका–५ काँडास्थित मन्दिरमा आइतबार राति चोरी भएको हो ।
मन्दिरबाट तीन लाख ५ सय ४० रुपैयाँ नगदसहित २ तोला सुन, ४ तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भएको हो । मन्दिरमा पूजापाठ गर्न आउनेहरूले ती मुद्रा मन्दिरमा चढाएका थिए ।
मन्दिरको उत्तरतर्फको गेट फोडेर मन्दिरभित्र पसेर चोरी भएको बुडुमष्ट क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरभित्र रहेको दराज फोडेर नगद र धातु चारी भएको कोषका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिए ।
मन्दिरमा रहेका बहुमूल्य मूर्तिहरू भने चोरी भएको छैन। उक्त नगद मन्दिरमा भेटीबापत चढाइएको रकम हो । सोमबार बिहानै पूजापाठका लागि मन्दिर पुगेका पुजारीले मन्दिरमा चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बाँफिकोटले त्यसको मुचुल्का उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले चोरी भएको खबर आएपछि बाँफिकोट इलाका प्रहरी कार्यालयलाई आवश्यक अनुसन्धानका लागि परिचालन गरिएको जानकारी दिए ।