बर्दिया : बर्दिया प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बर्दिया राजापुर नगरपालिका–४ सत्तिघाटबाट कैलाली टिकापुर नगरपालिका–१ का २९ वर्षिय गोपाल चौधरी सो रकम सहित पक्राउ परेका हुन् ।
प्रहरीले उनको साथबाट १७ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया प्रमुख तथा प्रहरी उपरिक्षक ईश्वर कार्कीले कैलालीबाट राजापुर आउँदै गरेका चौधरीलाई मोटरसाईकल नं. सुपप्र ०१००८ प ८१४५ बाट सो रकम बरामद गरिएको बताए ।
इलाका प्रहरी कार्यलय राजापुरबाट प्रहरी हवल्दार भक्तबहादुर थापाको कमाण्डमा गएको टोलीले कर्णाली सत्तिघाट पुलमा चेक जाच गर्दा चौधरीको साथबाट सो पैसा फेला परेका हुन ।
चौधरीले बोकेको कालो रंगको झोलाभित्र प्लाष्टिकको दुई वटा पोकामा रकम भेटिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाईएको बताए ।