नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरतमध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेशनमा रहेका छन् ।
संक्रमितमध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधीहरुमा कोरोना देखिएको हो । चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ । कोरोना संक्रमित हुनुभएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भएको छ ।
जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको मेयर डा. धवलशम्शेर राणाले बताए ।