नेपालगञ्ज : बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।
उनले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन । सदरलाइन डटकमसंग कुरा गर्दै उनले भने–‘ नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको विरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको छु ।’
पछिल्लो दुईसाता यता बाँकेमा कोभिड संक्रमणदर अत्यन्त उच्च हुँदै गएको र उनीहरुको लागि बाँकेका अस्पतालमा अक्सिजन अभाव भएको खबर बाहिरीएपछि आफु सो निर्णयमा पुगेको उनले बताए ।
नेपालगञ्ज उपमहानगरले गत आर्थिक वर्षमा पनि भेरी अस्पतालको कोभिड वार्डको लागि छुट्टाएको डेढ करोड रकम कार्यान्वयनका लागि समय नभएको भन्दै कार्यान्वयन नगरी फ्रिज भएको थियो ।