नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईशोलेशन वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालले कोभिड–१९ का विरामीलाई लक्षित गरी आइसियुसहितको आइशोलेशन सञ्चालन गरेको हो ।
कोरोना संक्रमणको दर र मृत्युु दर तीव्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शैयाको आइसियु तथा ३० शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए ।
उनले आफुहरुको अस्पतालले कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको स्मरण गराउदै तत्कालिन अवस्थामा अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड बन्द गरेकोमा पुनः आवश्यकता अनुसार सुचारु गरेको बताए ।