नेपालगञ्ज : भारतबाट नेपाल फर्कदै गरेका ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्रको जमुनाहमा रहेको हेल्थ डेस्कमा शनिबार बिहान गरिएको ‘एन्टिजेन टेस्ट’ माध्यामबाट ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
शनिबार बिहान भारतका विभिन्न प्रान्तबाट नेपाल फर्कनेहरुलाई जमुनाको हेल्थ डेस्कमा जाँचका क्रममा उनीहरुलाई कोरोना पोजेटिभ भएको पाईएको नेपालगञ्ज उपमहानगरपालिका हेल्थ डेस्क ईन्चार्ज तथा ल्याब टेक्नेसियन चिरञ्जिबी ज्ञवालीले जानकारी दिए ।
उनले शनिबार मात्र भारतबाट नेपाल फर्कदै गरेका १७ जनामा परिक्षण गर्दा ७ जना गुजरातबाट फर्केका र २ जना दिल्लीबाट फर्कदै गरेका गरी ९ जनामा कोरोना संक्रमण भएको पाईएको बताए ।
नेपालगञ्ज उपमहानगर स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएका संक्रमितको व्यवस्थापनको लागि निक्कै कठिनाई हुने गरेको बताए । उनले यी संक्रमितलाई तत्कालको लागि उनीहरुलाई नेपालगञ्ज उपमहानगरले सञ्चलनमा ल्याएको व्हाईट हाउस होटलमा रहेको आईशोलेशनमा पठाईएको बताए ।
गत चैत्र ११ गतेदेखि स्थापना गरिएको जमुनाह हेल्थ डेस्कले भारतबाट आउने सबैको ज्वरो परिक्षण गरी उनीहरुमा कुनै लक्षण देखिए एन्टिजेन परिक्षण गर्ने गरेको छ । हालसम्म भएको परिक्षणमा हिजोसम्म १५ जना पोजेटिभ केस थियो भने आज एकैदिन ९ जनामा कोरोना पोजेटिभ नतिजा आएको छ ।