नेपालगञ्ज : भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट नाकामा आवगमन गर्नेलाई चेकजाँच गर्नुको साथै कडाई शुरु गरिएको छ ।
भारतमा कोरोना बढेपछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांङ्गले जानकारी दिए । उनले सामान्य किनमेलको लागि भारत जानको लागि पूर्ण रुपले रोकिने बताए ।
गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताए । शुक्रवारदेखि उपचार वा अति आवश्यक काम बाहेक सीमापारी सामान किनमेल र अन्य सामान्य कामले आउने जानेलाई रोकिएको छ । यद्यपी सिमापारीबाट नेपाल आउनेको ठूलो घुईचो रहेको छ ।
भारतमा कोरोना संक्रमण बृद्धि भएपछि भारतबाट आउनेहरुलाई लक्षित गरी जमुनाह नाकामा हेल्थ डेस्क राखेर शंका लागेकाहरुको ‘एण्टिजिन’ परीक्षण शुरु गरिएको छ । शुक्रवार भारतको गुजरातबाट फर्किएका रोल्पा लिवांगका एक युवकमा ‘एण्टिजिन’ परीक्षणको माध्यामबाट कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कोरोना संक्रमण फैलिएका ठाउँबाट फर्किएका नेपालीको एण्टिजन परीक्षण गर्ने क्रममा ती युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उनले ती युवकलाई लक्षण नभएको कारण एम्बुलेन्समा राखेर रोल्पा पठाईएको बताए ।
भारतमा कोरोना संक्रमण दर अत्याधिक बृद्धि भएपछि सीमा क्षेत्रमा भारतबाट फर्कनेको घुईचो बढेको र संक्रमण फैलनसक्ने भन्दै सो बाट जोगिन सीमा क्षेत्रमा नेपालगन्ज उपमहानगरको पहलमा हेल्थ डेस्क राखेर संकास्पद ब्यक्तिलाई जाँच गरी पठाउने गरिएको छ ।