काठमाण्डौ : अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । वल्ड्रोमिटरका अनुसार अहिलेसम्म अमेरिकामा ३ करोड ४३ हजारभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विश्वमा कारोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ५ लाख ४६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, २ करोड २१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।
११ हजार ३ सयभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण जनजीविकामा नै समस्या परेकाहरुका लागि बाइडेन प्रशासनले १९ खर्बको राहत प्याकेज ल्याएको छ । यस्तै अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै प्रभावित छ ।
ब्राजिलमा एक करोड १४ लाखभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको छ भने दुई लाख ७७ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएका देशको तेस्रो स्थानमा रहेको भारतमा एक करोड १३ लाखभन्दा धेरै संक्रमित छन् ।
त्यहाँ अहिलेसम्म डेढ लाखभन्दा धेरैको कोरोनाका कारण ज्यान गएको छ ।