काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले आइतवार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि यो खोप सुरक्षित रहेकाले सबैलाई लगाउन आग्रहसमेत गरे ।
आजदेखि देशैभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।
यसैबिच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि आइतवार कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।